दाङ तुलसीपुर अरनिको मैदानमा संचालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी ज्ञानज्योती कलेज तुलसीपुरले जितेको छ।
नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक ब्यवस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनिको मावि तुलसीपुर २५-१३,२५-१४ र २५-१४ अर्थात ३-० को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योतिले उपाधी चुमेको हो । उपाधीसँगै उसले नगद एक लाख पाँच हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्यो । फाईनलमा पराजित अरनिको उपबिजेतामा सीमित रहदै नगद नगद ६५ हजार, कप मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो। त्यस्तै हेलो मोबाईल ए तुलसीपुरले तृतीय स्थान हात पार्यो ।
तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा बेष्ट प्लेयर खेलाडी ज्ञानज्योति कलेजका हेमन्त मल्ल भए । उनले नगद ३५ सय र ट्रफी हात पारे ।
त्यस्तै वेष्ट ब्लकर ज्ञान ज्योतिकै चिरण खड्का, वेष्ट स्पाइकर ग्रेट अरनिकोका बिक्रम बोहरा, बेष्ट सेटर ज्ञानज्योतिका सुवास कवर, वेष्ट लिब्रो ग्रेट अरनिकोका अविशेक वली र वेष्ट सर्भर ज्ञानज्योतिका मनिष मानन्धरलाई क्रमशः जनही २५ सयका दरले नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । तीन दिनसम्म संचालित प्रतियोगिता १२ टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्वमन्त्री दिपक गिरीको प्रमुख आतिथ्यमा भएको थियो । सो अबसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी, नेपाली कांग्रेस क्षेत्र न ३ ख का सभापति खिम बहादुर वली, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगायतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन नेपाली कांग्रेस तुलसीपुर नगर सचिव बिमल पौडेलले गर्नु भएको थियो ।