जब सभामुख र उपसभामुख संसद् छिरे, तब सांसद आ–आफ्नो ठाउँबाट उठे। सभामुखले राष्ट्रिय गानसँगै बैठक प्रारम्भ गरे। त्यसपछि क्रमैसँग सांसदले आ–आफ्नो क्षेत्रका विशेष मुद्दालाई संसद्को ध्यानाकर्षण गरे।
सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर सवाल–जवाफ चल्यो। संसदमा दाङको घोराही – तुलसीपुर फोरलेन सडक नबनेको , जुम्लाको स्याउले बजार नपाएकोदेखि मधेश र सुदूरपश्चिमको जातीय छुवाछुत हुँदै रुकुम सल्यान जाने राप्ती राजमार्ग स्तरउन्नति नभएर नागरिकले पाएका सास्तीका विषयले प्राथमिकता पाए।
सत्ता पक्षका प्रधानमन्त्रीदेखि मन्त्री र सांसदले सरकारका कामको रक्षात्मक जवाफ पेस गरे भने प्रतिपक्षका सांसदहरूले सरकारको कामकारबाहीको कडा आलोचना गरे।
देख्दा संघीय संसद्को झल्को आउँथ्यो। पात्र, विषय र भूमिका अभ्यासका निम्ति भए पनि देशको परिस्थितिसँग दुरुस्त थियो। संसदमा बोल्न नजान्ने, उत्तेजक र आक्रामक सांसद, सरकारले बाँड्ने विकासको आदर्शदेखि संसद्को प्राविधिक कमजाेरीको समेत ठ्याक्कै चित्रण अभ्यासमा देखाइयो।
दाङ जिल्लामै कानुन संकायमा अध्ययन हुने उत्कृष्ट विद्यालय ज्ञानज्योती कलेजका विद्यार्थीले प्रस्तुत गरेको नमुना युवा संसद्को अभ्यासले देख्नेहरू पनि छक्क परे।
सधैँ टेलिभिजनको पर्दामा संसद् र संसद् प्रक्रिया देखेका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरोकारवाला पनि अभ्यासले दंग थिए।
ज्ञानज्योतीका कानुन संकायमा अध्ययनरत विद्यार्थीले नमुना संसद्को अभ्यास गरेका हुन्। नमुना संसद् वास्तविक संसदभन्दा केही फरक नभएको अवलोकन गरिरहेकि पुर्ब राष्ट्रिय सभा सदस्य कोमल ओलिले बताउनुभयो । बाहिर भने जस्तो राजनीति फोहोरी नभएको र उच्च शिक्षा हासिल गरेका युवा राजनीतिमा नआउँदा सम्म राजनीति भित्रको बिकृति अन्त्य नहुने उहाँको भनाइ छ ।

ज्ञानज्योती केलेजमा कानुन संकायमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक विधिबाट संसद्को नमुना अभ्यास प्रस्तुत गरेको कलेज प्रमुख सुरेन्द्र जि सी ले जानकारी दिनुभयो ।
नमुना संसद पाँच घन्टाभन्दा बढी समय सञ्चालन भएको थियो। विद्यार्थीलाई नयाँ युवा नयाँ सोच अभियानले प्रशिक्षण दिएको थियो। आगामी दिनमा विद्यालयले अभ्यासलाई निरन्तरता दिनुपर्नेमा कार्यक्रम संयोजक तथा प्रशिक्षक विनोद खत्रीले जोड दिए।
विद्यार्थीलाई नेपाली संसदीय पद्धतिबारे ज्ञान प्रदान गर्ने, कानुन निर्माण प्रक्रियाको जानकारी गराउने तथा नेतृत्व विकासमा समेत टेपा पुर्याउने उद्देश्यले नयाँ युवा नयाँ सोच अभियानले देशका विभिन्न क्याम्पस तथा स्कुलमा नमुना युवा संसद्को अभ्यास गरिरहेको संयोजक खत्रीले बताए।
कार्यक्रममा सयजना छात्रछात्राको प्रत्यक्ष रूपमा संसद्को विभिन्न भूमिकामा सहभागी थिए।
त्यस्तै आज भएको समापन कार्यक्रममा ज्ञानज्योति फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुर्ब राष्ट्रिय सभा सदस्य कोमल वली , लुम्बिनी प्रदेश संसदीय मामिला समाजका महासचिव नारायण खड्का, रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मी, शिक्षक मनोज कुमार के सी , शिक्षक शरद गौतम लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले संसद् नमुना भए पनि पात्रहरूको चरित्र र प्रस्तुति वास्तविक सांसद, मन्त्री र प्रधानमन्त्रीकै जस्तै प्रस्तुत भएको बताए।
सहभागी विद्यार्थीहरुले टेलिभिजनबाट देखेको संसद् र संसदीय प्रक्रियामा आफैँ सहभागी भएर अभ्यास गर्न पाउँदा निकै फाइदा पुगेको बताए।
सो अबसरमा विभिन्न बिद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ पुरस्कार समेत प्रदान गरिएको थियो ।
कानुन बिषयका संयोजक सोमराज बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको समापन कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक सन्तोष केसीले गरेका थिए ।




