Advertisement
Advertisement
Advertisement

लायन्स क्लब अफ दाङको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

Advertisement

लायन्स क्लब अफ दाङको पद हस्तान्तरण तथा नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ। वर्ष २०२५/२६ का अध्यक्ष बिनिल केसीको अध्यक्षता तथा डिस्ट्रिक्ट ३२५ एनका गभर्नर पीएमजेएफ लायन बिनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमले लायन्स क्लब अफ दाङको वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसअनुसार अध्यक्षमा लोक बहादुर बिष्ट, प्रथम उपाध्यक्षमा गोपाल रावत, द्वितीय उपाध्यक्षमा सरोज कुमार लामिछाने, तृतीय उपाध्यक्षमा कोमल डिसी, सचिवमा रोम प्रसाद भट्टराई, सहसचिवमा माधव पोख्रेल, कोषाध्यक्षमा हरिश गिरि तथा सहकोषाध्यक्षमा सूर्य प्रसाद शर्मा निर्वाचित हुनुभएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गभर्नर बिनोद कुमार श्रेष्ठले लायन्स क्लब मानवीय सेवाको विश्वव्यापी अभियान भएको उल्लेख गर्दै समाजका विभिन्न क्षेत्रमा आवश्यकतामा परेका नागरिकहरूको सेवामा निरन्तर सक्रिय रहन आग्रह गर्नुभयो। उहाँले लायन्सको मूल मन्त्र ‘हामी सेवा गर्छौं’ लाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

नवनिर्वाचित अध्यक्ष लोक बहादुर बिष्टले क्लबको नेतृत्व सम्हाल्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निवर्तमान अध्यक्ष बिनिल केसीले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै लायन्स क्लबले समाजमा पुर्‍याउँदै आएको सेवामूलक योगदानको प्रशंसा गरेका थिए। वक्ताहरूले लायन्स क्लबले विपन्न, असहाय तथा आवश्यकतामा परेका समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गरेका थिए।

कार्यक्रममा पद हस्तान्तरणसँगै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। सहभागीहरूले लायन्स क्लबको सेवा, समर्पण र मानवताको भावनालाई थप सशक्त बनाउँदै समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।

यसैबीच, सामाजिक सेवा र लायन्स क्लबका गतिविधिहरूलाई पत्रकारितामार्फत प्रभावकारी रूपमा उजागर गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न योगदान पुर्‍याएको भन्दै पत्रकार नारायणी रजौरेलाई सम्मान गरिएको थियो।

कार्यक्रमको सहजिकरण बर्ष २०२५/२६ का सचिब बिजय गिरिले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *