रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तमा ईभी गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।
आइतबार बिहान मध्यपहाडी लोकमार्गमा सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ ज. १४८२ नम्बरको ईभीले बाटो काट्दै गरेका आमा–छोरीलाई ठक्कर दिएको हो।
मृत्यु हुनेमा गुल्मी रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सार घर भई हाल मुसिकोट खलंगास्थित लक्ष्मी सनराइज बैंकमा कार्यरत घनश्याम ज्ञवालीकी २६ वर्षीया श्रीमती स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्।
उनीहरू क.प्र.०२–००१ ख १०७० नम्बरको फोर्स गाडीमा मुसिकोटबाट सुर्खेत जाँदै थिए। छोरीलाई शौचालय लागेपछि सानीभेरी–८ मा गाडी रोकेर शौचालय लैजाने क्रममा बाटो काट्दा ईभीले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई जिल्ला अस्पताल सल्ले ल्याइए पनि उपचारका क्रममा बिहान ९ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। ईभी चालक सानीभेरी–३ चौखे निवासी २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



