अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत लागूऔषध दुर्व्यसन तथा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ।
तुलसीपुर उपमहानगरपालिका, नगर युवा परिषद् र नगरस्तरीय युवा सञ्जालको संयुक्त आयोजनामा तथा इलाका प्रहरी कार्यालय तुलसीपुर र दिव्यकुञ्ज एकेडेमीको सहकार्यमा दिव्यकुञ्ज एकेडेमीमा कार्यक्रम आयोजना गरिएको हो।
नगर युवा परिषद्का उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुर्जमान भण्डारी ‘वर्षात’ प्रमुख आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन भण्डारीको विशिष्ट आतिथ्यता तथा मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डीसी, विद्यालय सञ्चालक समितिका सदस्य गोरखबहादुर ओली र विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असिम हमालले प्रमुख प्रशिक्षकका रूपमा रहनुभएको थियो । उहाले लागूऔषध दुर्व्यसनका कारण, यसबाट हुने सामाजिक तथा व्यक्तिगत असर, साइबर अपराधका विभिन्न स्वरूप, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा साइबर अपराधबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिएका थिए।
युवामाझ लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा बढ्दो साइबर अपराधबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
लागूऔषध दुर्व्यसन तथा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न



