Advertisement
Advertisement
Advertisement

उद्यमीलाई सक्षम र आत्मनिर्भर बनाउन नेतृत्व विकास तालिम

Advertisement

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा उद्यमीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजना, तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा ग्रीन फाउण्डेशन नेपाल र रुकुमेली महिला सञ्जाल तुलसीपुरको सहकार्यमा सञ्चालन गरिएको तालिममा उद्यम व्यवसाय सञ्चालन गरिरहेका तथा नयाँ व्यवसाय सुरु गर्न इच्छुक गरी ५९ जना उद्यमीहरूको सहभागिता रहेको थियो।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले स्थानीय स्तरमा उद्यमशीलताको विकासले रोजगारी सिर्जना, आर्थिक समृद्धि र आत्मनिर्भर समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले उद्यमीहरूलाई उत्पादन, बजारीकरण र व्यवसाय विस्तारमा आवश्यक सहयोग गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डे, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक भण्डारी तथा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षक जनक भण्डारीले नवप्रवर्द्धन र उद्यमशीलताको विषयमा सहजीकरण गर्दै समयअनुसार व्यवसायमा नयाँ सोच, योजना र प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो। ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले सफल उद्यमी बन्न आवश्यक गुण, व्यवसाय सञ्चालनका चुनौती र अवसरका बारेमा प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी स्टेशन म्यानेजर बसन्त पौडेलले उद्घोषण कला, प्रभावकारी सञ्चार सीप तथा औपचारिक कार्यक्रम सञ्चालन गर्ने विधिका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लालबहादुर केसीले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवले उद्यमशीलता विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले उद्यमीहरूलाई आत्मविश्वासी, सक्षम र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताउनुभयो।
प्रशिक्षकहरूले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै निरन्तर अध्ययन, अनुशासन र नवीन सोचले मात्र व्यवसायलाई सफल बनाउन सकिने बताएका थिए।

कार्यक्रममा सहभागीहरूले तालिम निकै उपयोगी, व्यवहारिक र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले व्यवसाय सञ्चालन, नेतृत्व विकास, सञ्चार सीप तथा उद्यमशीलतासम्बन्धी नयाँ ज्ञान प्राप्त भएको बताउँदै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ छ ।
रुकुमेली महिला सञ्जाल तुलसीपुरकी अध्यक्ष दुर्गा खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासंघका महासचिव भद्रबहादुर वलीले गर्नुभएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *