Advertisement
Advertisement
Advertisement

जलनको प्राथमिक उपचार: सही जानकारीले बचाउन सक्छ ज्यान

Advertisement

जलन (Burn) आगो, तातो पानी, तेल, तातो वस्तु, रसायन, बिजुली वा विकिरणका कारण हुने चोट हो। जलनको अवस्थामा सही समयमा सही प्राथमिक उपचार प्रदान गर्न सके चोटको गम्भीरता कम गर्न, संक्रमणबाट बचाउन तथा ज्यानसमेत जोगाउन सकिन्छ।

  • सबैभन्दा पहिले बिरामीलाई जलनको स्रोतबाट सुरक्षित स्थानमा सार्नुपर्छ। यदि व्यक्तिको कपडामा आगो लागेको छ भने दौडिन दिनु हुँदैन, किनकि दौडिँदा आगो अझ फैलिन सक्छ। यस्तो अवस्थामा “रोक, भुईँमा लड र लडिबुढी गर” (Stop, Drop and Roll) भन्ने विधि अपनाउनुपर्छ। साथै, आगो निभाउन भिजेको वा बाक्लो कम्बल/कपडाले शरीर छोपेर अक्सिजनको आपूर्ति रोक्नुपर्छ। यसरी गर्दा आगो छिटो निभाउन मद्दत हुन्छ।

आगो निभेपछि जलेको भागलाई कम्तीमा २० मिनेटसम्म चिसो बग्ने सफा पानीले चिस्याउनुपर्छ। यसले जलनको गहिराइ कम गर्नुका साथै पीडा पनि घटाउँछ। बरफ वा अत्यधिक चिसो पानी भने प्रयोग गर्नु हुँदैन, किनकि यसले थप क्षति पुर्‍याउन सक्छ।

जलेको भाग सुन्निन सक्ने भएकाले औँठी, घडी, बेल्ट वा अन्य कसिला वस्तु सावधानीपूर्वक हटाउनुपर्छ। तर छालामा टाँसिएको कपडा जबरजस्ती तान्नु हुँदैन। त्यसपछि जलेको भागलाई सफा, सुख्खा र स्टेराइल (Sterile) वा सफा कपडाले हल्का ढाक्नुपर्छ, ताकि संक्रमणको जोखिम कम होस्।

जलन भएको स्थानमा फोका फुटाउनु हुँदैन। त्यसैगरी घिउ, तेल, टुथपेस्ट, माटो, मलम वा अन्य घरेलु पदार्थ लगाउनु हुँदैन, किनकि यसले संक्रमण बढाउन सक्छ र उपचारमा कठिनाइ उत्पन्न गर्न सक्छ।

यदि रसायनका कारण जलन भएको हो भने दूषित कपडा हटाई प्रभावित भागलाई कम्तीमा २० मिनेटसम्म प्रशस्त सफा पानीले पखाल्नुपर्छ। विद्युतीय जलनको अवस्थामा भने सबैभन्दा पहिले विद्युत् आपूर्ति बन्द गरी मात्र बिरामीलाई छुनुपर्छ। बिरामीको श्वासप्रश्वास र चेतना जाँच गरी आवश्यक परे CPR दिनुपर्छ र तुरुन्त अस्पताल पठाउनुपर्छ।

  • अनुहार, घाँटी, हात, खुट्टा, जननेन्द्रिय वा शरीरको ठूलो भाग जलेको अवस्थामा, गहिरो जलन भएको अवस्थामा, बिजुली वा रसायनबाट जलन भएको अवस्थामा तथा सास फेर्न गाह्रो भएको अवस्थामा ढिलाइ नगरी स्वास्थ्य संस्थामा लैजानुपर्छ।

अन्त्यमा, जलनको अवस्थामा सही प्राथमिक उपचार नै प्रभावकारी उपचारको पहिलो चरण हो। त्यसैले व्यक्तिलाई सुरक्षित बनाउने, कपडामा लागेको आगो तुरुन्त निभाउने, जलेको भागलाई चिसो पानीले चिस्याउने र आवश्यक परे समयमै स्वास्थ्य संस्थामा पुर्‍याउने कार्यले ज्यान बचाउन र जलनबाट हुने जटिलता कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

लेखक : धन बहादुर चलाउने । लुम्बिनी प्रदेश प्रहरी विपद ब्यबस्थापन गुल्ममा कार्यरत हुनुहुन्छ 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *