आशिष के सी /तुलसीपुर
दाङ तुलसीपुर स्थित डिभाईन टेम्पल एकेडेमीमा अभिभावक शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा कक्षा ४ देखि ७ सम्मका विद्यार्थीका अभिभावक र शिक्षक बिच अन्तरक्रिया सम्पन्न भएको हो । सो अवसरमा स्वास्थ्य र शिक्षा क्षेत्रका विज्ञहरुले अभिभावकहरुलाई प्रशिक्षण समेत दिनुभएको थियो ।

डिभाईन एजुकेशन फाउण्डेशनका सिईओ भोजराज न्यौपानेको अध्यक्षता तथा प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका वरिष्ठ रेडियोलोजिष्ट डा. देवराज केसीको प्रमुख आतिथ्यता एवं नेपाल संस्कृत विस्वविद्यालय बेलझुण्डीका उप-प्राध्यापक रिम बहादुर खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि केसीले बालबालिकाको मनोविज्ञान बुझ्न जरुरी रहेको बताउनुभयो । अहिलेको अवस्थामा विशेषगरी अभिभावकहरुले आफ्ना बालबालिकाहरुको मनोविज्ञान बुझेर सोही अनुसारको व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँका अनुसार कुनैपनी बालबालिकाको रुचिको पहिचान गरि अघि बढ्न दिएमा ती बालबालिका जीवनमा सफल हुने बताउनुभयो । बालबालिकाको पहिलो पाठशाला घर भएकोले घरमा अभिभावकले असल अभिभावकत्व ग्रहण गरे मात्र बालबालिका असल हुने उहाँको भनाई थियो । साथै उहाँले मोबाईल लगायत प्रविधिको दुरुपयोग बढ्दै गएको भन्दै त्यसको निगरानीको लागी पनि अभिभावक सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै विशिष्ट अतिथि खड्काले बालबालिकालाई किताबी ज्ञानमा मात्र केन्द्रित नगरी व्यवहारिक कुरामा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो । घोकन्ते र परम्परागत शिक्षाले मात्र जीवनमा सफल हुन नसकिने बताउँदै आधुनिक र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई थियो । त्यस्तै उहाँले बालबालिकाको रुचि र चाहना अनुसार खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि सहभागी बनाउनुपर्ने धारणा राख्नुभयो । जुन अवसर डिभाईन टेम्पलले प्रदान गर्न सफल भएको समेत उहाँको भनाई थियो ।
कार्यक्रममा डिभाईन फाउण्डेशनका सिईओ न्यौपानेले संस्कारयुक्त शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा पनी जोड दिंदै आएको बताउनुभयो । साथै उहाँले शिक्षक, विद्यार्थी र अभिभावक बिच त्रिकोणात्मक सम्बन्ध कायम गर्न जोड दिएको धारणा राख्नुभयो ।
विद्यालयले यस्ता प्रकारका कार्यक्रममा जोड दिएकोमा अभिभावकहरुले खुशी व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले मन्तव्य, गीत, नृत्य लगायतका आफ्ना प्रतिभाहरु राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य एकेडेमीक कोर्डिनेटर जीवन लामिछानेले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका भाईस प्रीन्सिपल महेश लामिछानेले गर्नुभएको थियो ।
डिभाईन टेम्पल एकेडेमीले संस्कार सहितको शिक्षा सँगै विद्यार्थीको रुचि अनुसार अतिरिक्त क्रियाकलापमा पनि जोड दिंदै आएको छ ।



