दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलको मेरिगोल्ड जुनियर रेडक्रस सर्कलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका र अभिभावक गरी २० जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेब रिजालले रेडक्रसको मानवीय सेवा लई विद्यार्थी माझ फैलाउन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यालयले आगामी दिनमा पनि सामाजिक सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहायक प्रधानाध्यापक सोमराज बस्नेतले रक्तदान जस्तो पुण्य कार्यमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिताले विद्यालयको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता प्रष्ट भएको उल्लेख गर्नुभयो। उहाँले रेडक्रस सर्कलका सदस्यहरू समाजिक सेवाका अन्य क्षेत्रमा पनि सक्रिय रहनुपर्नेमा जोड दिनुभयो।
मेरिगोल्ड जुनियर रेडक्रस सर्कलका अध्यक्ष प्रतीक खनालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो । सर्कलले विभिन्न सामाजिक कामहरूमा निरन्तर सक्रिय रहँदै आएको उहाले जानकारी दिनुभयो।



