दाङको तुलसीपुरमा टाटा मोटर्सको नयाँ LPK 912 मिनी टिप्पर औपचारिक रूपमा सार्वजनिक गरिएको छ । विभिन्न यातायात व्यवसायीका प्रमुख तथा प्रतिनिधिहरू, टाटा गाडी प्रयोगकर्ता, मेकानिक्स तथा सरोकारवालाहरूको उपस्थितिमा व्यवसायीहरूको हातबाट गाडी अनावरण गरिएको हो ।
कार्यक्रममा सिप्रदी का क्षेत्रीय प्रबन्धक पशुपति पौडेलको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनले ग्राहक, रिटेलर्स तथा मेकानिक्सको निरन्तर साथ र विश्वासकै कारण टाटा नेपालमा अटोमोबाइल क्षेत्रमा नम्बर–एक ब्रान्ड बन्न सफल भएको बताए । उनले सिप्रदीले पनि सबै सरोकारवालासँग सहकार्य गर्दै गुणस्तरीय सेवा प्रदान गरिरहेको उल्लेख गरे ।
नयाँ टाटा LPK 912 मिनी टिप्पर निर्माण सामग्री, बालुवा, गिट्टी, माटो तथा अन्य ढुवानी कार्यलाई लक्षित गरी बजारमा ल्याइएको हो । बलियो बडी, उच्च भार वहन क्षमता तथा दुर्गम सडकमा समेत सहज सञ्चालन गर्न सकिने विशेषताले यसलाई व्यवसायीहरूका लागि उपयोगी सवारीका रूपमा हेरिएको छ ।
यस टिप्परमा शक्तिशाली इन्जिन, मजबुत चेसिस तथा उत्कृष्ट माइलेज सुविधा रहेको कम्पनीले जनाएको छ । साथै कम मर्मत खर्च, सहज स्पेयर पार्ट्स उपलब्धता र बलियो सस्पेन्सन प्रणालीका कारण यो गाडी निर्माण तथा ढुवानी क्षेत्रमा अझ प्रभावकारी हुने विश्वास गरिएको छ ।
कार्यक्रमको सहजीकरण सिप्रदी दाङका बिक्री प्रतिनिधि विवेक आचार्यले गरेका थिए ।



