रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर २ ले समयमै जन्मदर्ता गर्न आएमा बच्चाको आमालाई पोषण चिनो अन्तर्गत अण्डा उपहार दिने निर्णय गरेको छ । वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार भदौ ६ गते बसेको वडाको नियमित बैठकले सोहि दिनदेखि नै लागु हुने गरेर पोषण चिनो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
बच्चा जन्मेको ३० दिन भित्र वडा कार्यालयमा आएर बच्चाको जन्मदर्ता गरेमा सुत्केरी आमालाई एक क्यारेट अर्थात ३० वटा अण्डा उपहार दिईनेछ । वडा अध्यक्षको पोषण चिनो कार्यक्रम अन्तर्गत प्रत्येक सुत्केरी आमालाई एक क्यारेट अण्डा दिने गरि वडाको समपुरक कोषवाट पचास हजार समेत बिनियोजन गरिएको छ । उक्त समयमा जन्मदर्ता पनि निशुल्क हुने वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । यो निर्णयले व्यक्तिगत घटना दर्ता र सुत्केरी आमालाई पोषणमा थोरै भएपनि टेवा पुग्ने बिश्वास लिईएको वडा अध्यक्ष खत्रीको भनाई छ ।
अब वडा कार्यालयमा समयमै जन्मदर्ता गराउनेलाइ जन्मदर्ता प्रमाणपत्रसँगै अण्डा पनि उपहारको रुपमा दिइने बताउनुभयो । बालबालिका र सुत्केरी आमाको पोषणमा ध्यान दिन समेत वडा कार्यालयले आग्रह गरेको छ ।