रुकुमको मुसिकोट नगरपालिकाका कर्मचारी सोमबारदेखि काममा फर्किएका छन्। उपमेयरमाथि कारबाहीको माग गर्दै आइतबार कर्मचारीले नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना दिँदा सेवा प्रवाहित भएको थियो। त्यसपछि प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले विज्ञप्ति जारी गरी काममा फर्किन कर्मचारीलाई अनुरोध गरेका थिए।
शनिबार बिहान ११ बजेतिर उपमेयर विमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई परीक्षाको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गरेपछि सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका थिए।
कर्मचारीको तालाबन्दी र धर्नाका कारण नगरको सेवा आइतबार दिनभरजसो ठप्प थियो।
प्रमुख प्रशासकीय अधिकृत खड्काले विज्ञप्तिमार्फत् आफू मातहतका कर्मचारी कार्यकक्षमै कुटिँदासमेत जोगाउन नसकेकोमा आत्मालोचना पनि गरेका छन्। त्यसपछि पनि अन्य कर्मचारी र उनका परिवारलाई विभिन्न माध्यमबाट धम्की दिने जस्ता कार्यहरू भइरहेकोप्रति प्रहरी प्रशासनसँग उनले शान्ति सुरक्षाको माग पनि गरेका छन्।
कर्मचारीका जायज मागप्रति आफ्नो पनि ऐक्यबद्धता प्रकट गर्दै प्रमुख प्रशासकीय अधिकृत खड्काले उमेयरले शिक्षा शाखा प्रमुख कुटेको विषयमा अधिकार प्राप्त निकायबाट छानबिन र दोषीमाथि कारबाहीको माग पनि गरेका छन्।
उत्पन्न बिबादका कारण लामो समयदेखि मातहतका विद्यालयमा रिक्त शिक्षक कोटाका कारण विद्यार्थीको पठनपाठन प्रभावित हुन सक्ने तथ्यलाई मनन गर्दै नियम अनुसार छिटो शिक्षक नियुक्तिका लागि परीक्षा सञ्चालन गर्न जरूरी रहेको पनि प्रमुख प्रशासकीय अधिकृत खड्काले औंल्याएका छन्।
उपमेयर पुनले शिक्षा शाखा प्रमुख वलीलाई कुटपिट गरेपछि शिक्षक नियुक्तिका लागि तोकिएको परीक्षा स्थगित भएका थिए। त्यसबारे प्रमुख प्रशासकीय अधिकृत खड्काले अबदेखि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गरिने बताएका छन्।