रोल्पामा एक घरमा आगलागी हुँदा ७५ वर्षिया वृद्धाको मृत्यु भएको छ ।
मंगलबार बेलुका पौने पाँच बजेतिर अचानक भावाङको कचरिकोटस्थित माटो, ढुंगा र टिनले बनाइएको २ तलाको घरमा आगलागी हुँदा घरमा एक्लै रहेकी ७५ वर्षियाा वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मृत्यु हुनेमा माडी गाउँपालिका-५ भावाङ निवासी ७५ वर्षीया हरिकला घर्ती रहेकी छिन् ।
घरमा माइलो छोरासँग बस्दै आएको तर त्यसबेला माइलो छोरा काम गर्न बाहिर निस्केको प्रहरी अनुसन्धानबाट खुलेको छ । उहाँका अन्य तीन छोरा भने अन्यत्र बस्ने गरेका छन् । घरको तल्लो तलाबाट सल्केको आगोबाट जलेर माथिल्लो तलामा रहेकी वृद्धाको मृत्यु भएको हो ।
घरमा पशु चौपाया न भएको र आगलागी तत्काल प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । घटनाका विषयमा विस्तृत अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।





