माघी पर्वको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ स्थित कट्कुईयाँमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। थारू भुह्यार थान सञ्चालन समिति कट्कुईयाँको आयोजनामा तथा स्थानीय थारू युवायुवतीहरूको सक्रिय सहभागितामा तीन वटा टोलका सडक, नाला र झाडी सफा गरिएको हो।
कार्यक्रम अन्तर्गत कट्कुईयाँ टोल, सम्झना टोल र सगरमाथा टोल भित्रका बाटोघाटो, नालाहरू सफा गर्नुका साथै झाडी काट्ने र प्लास्टिकजन्य फोहर व्यवस्थापन गर्ने काम गरिएको थियो। सो कार्यक्रममा १ सयभन्दा बढी थारू समुदायका युवायुवतीहरूको सहभागिता रहेको थियो।
हरेक वर्षझैँ यस वर्ष पनि माघी (माघ) पर्वको केही दिन अगाडि सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। सरसफाइ अभियान एक दिने भए पनि यसले घरआँगनदेखि समग्र टोल सफा राख्नुपर्ने चेतनाको विकास गरेको थारू भुह्यार थानका महटवा खिमलाल चौधरीले बताउनुभयो।
थारू समुदायले माघी (माघ) पर्वलाई विशेष उत्सवका रूपमा मनाउने भएकाले यस अवसरमा विभिन्न स्थानमा मेला तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना भइरहेका छन्। सरसफाइ अभियानले पर्वलाई स्वच्छ र व्यवस्थित रूपमा मनाउन सहयोग पुगेको स्थानीयवासीहरूले बताएका छन्।





