यस पालि मत नबिगार्नु बुवा…
अब कुरा लुकाउने बेला छैन।
देशको हालतआँखाले देखिने भइसक्यो।
यता
युवाहरू सडकमा छन्,
नारा होइन –
भविष्य खोज्दै।
उता
नेताहरू महलमा छन्,
एसीको हावामा
जनताको पीडा बिर्सँदै।
हामीले जीवनभर
भाषण सुन्दै आयौँ बुवा,
ठूला शब्द,
मीठा वाचा-
तर गाउँ उस्तै,
घर उस्तै,
जिन्दगी उस्तै।
अब फेरि आउँछन् –
मञ्च ठड्याएर, माइक च्यापेर,
“देश बनाउँछु” भन्दै।
तर याद राख्नुस् बुवा –
भाषणले देश बनेको
हामीले कहिल्यै देखेनौँ।
अब अर्को खेल सुरु हुन्छ –
मिडिया ट्रायल,
भ्रम फैलाउने योजना।
सत्य बोल्नेलाई गलत बनाइन्छ,
प्रश्न गर्ने युवालाई
अराजक भनिन्छ।
बुवा…
न पत्याउनु।
न किनिनु।
न डराउनु।
अब फेरि
जातको नाममा,
पार्टीको नाममा,
धर्मको नाममा
हामीलाई आपसैमा लडाउन खोज्लान्।
नलड्नु बुवा।
नझुक्किनु।
याद राख्नुस् –
तल बसेकाहरू लड्यौँ भने
माथि बसेकाहरू सधैँ जित्छन्।
जनता सडकमा,नेता महलमा –
यसै गरी देशअब चल्न सक्दैन।
आजका युवा
हल्लामा होइन,
सत्यमा उठेका छन्।
यो आन्दोलन
तोडफोडको होइन,
यो आन्दोलन
इमानको हो।
अब भोट माग्न आए
एउटै प्रश्न सोध्नुस् बुवा –
“हिजो के गर्यौ?”
“आज किन पत्याऊँ?”
अब बाँच्नु भनेको
चुप लाग्नु होइन।
अब बाँच्नु भनेको
ठगिन नमान्नु हो।
भ्रम बेच्लान् –
न किनिनु।
डर देखाउलान्—नडराउनु।
झुक्याउन खोज्लान् –
नझुक्किनु।
अब नेता चिन्ने समय आएको छ बुवा –
भाषणले होइन,
पदले होइन,
पार्टीको झण्डाले होइन,
जनताको पीडा बुझ्ने मनले
र राष्ट्रप्रतिको इमानदार निष्ठाले।
अब नगरे कहिले गर्ने ?
यो पटक मात्र एक पटक –
परिवर्तनका लागि सोचौँ,
विवेक प्रयोग गरौँ।
दाजुभाइ, दिदीबहिनी,
आमा–बुवा सबैलाई आग्रह –
मत नबिगारौँ,
भविष्य नबेचौँ।
धेरै ब्वाँसाहरूले
हाम्रो रगत चुसिसके,
अब फेरि
धोका खानु हुँदैन।
याद राख्नुस् बुवा –
लोकतन्त्र मतले बाँच्छ,
तर गलत मतले नै मर्छ।
परिवर्तन नाराले होइन,
सही छनोटले आउँछ।
बुवा…
कयौं वीर शहिदहरूले
देश र राष्ट्रका लागि
ज्यान नै दिए।
रगत बगाएर,
सपना बगाएर
हाम्रो स्वतन्त्रता सुरक्षित गराए।
अब पालो हाम्रो हो।
अब मत नबिगार्नु, बुवा।
अब उठ्नै पर्छ।
अब बोल्नै पर्छ।
देश बचाउन
सही निर्णय लिनै पर्छ।
सबैले बाँच्न पाउनै पर्छ।
अब देशमा परिवर्तन ल्याउनै पर्छ।
यसपाली मत नबिगार्नु बुबा – मिनराज वली





