Advertisement
Advertisement
Advertisement

पनेचौर मेला जोगाउन युवाहरुको सक्रियता, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित भव्य तयारी

रोशन क्षेत्री / रुकुम पश्चिम पछिल्लो समय लोप हुँदै गएको पनेचौर मेलालाई संरक्षण तथा प्रवर्द्धन गर्न मुसिकोट नगरपालिका–४ का युवाहरू सक्रिय रूपमा जुटेका छन्। परम्परागत रूपमा लाग्दै आएको यो मेला यस वर्ष थप आकर्षक र व्यवस्थित रूपमा सञ्चालन गरिने भएको छ।
मुसिकोट नगरपालिका–४ स्थित ठाडाढुङ्गामा हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने पनेचौर मेला यस वर्ष चैत १९ गते आयोजना हुने तय गरिएको छ। विगत केही वर्षयता मेलाको लोकप्रियता घट्दै गएको अवस्थामा स्थानीय युवाहरूको पहलमा यसलाई पुनः जीवित बनाउने प्रयास गरिएको हो।
मेलालाई थप आकर्षक बनाउन घैटोफोर, भाले तान्ने, रसी तान्ने लगायतका परम्परागत खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिनेछ। साथै, स्थानीय कला, संस्कृति र पहिचान झल्काउने विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले जानकारी दिनुभयो।
स्थानीय स्तरमा मेलाले सामाजिक सद्भाव, आपसी भाइचारा र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस वर्षको आयोजनाले हराउँदै गएको परम्परालाई पुनर्जीवित गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
स्थानीय बासिन्दा, युवा तथा विभिन्न संघसंस्थाको सहकार्यमा मेला भव्य रूपमा सम्पन्न गर्ने तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *