Advertisement
Advertisement
Advertisement

तुलसीपुरमा काठका हस्तकला सामग्री बनाउने तालिम सम्पन्न, ३२ महिला सहभागी

Advertisement

दाङको तुलसीपुरमा सञ्चालित वन पैदावारमा आधारित उद्यमशीलता कार्यक्रमअन्तर्गत काठका ठेका–ठेकी तथा हस्तकला सामग्री बनाउने २५ दिने सीप विकास तालिम शुक्रवार सम्पन्न भएको छ।

तुलसी सामाजिक विकास केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिम वैशाख ६ गतेदेखि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित देविस्थान मन्दिर परिसरमा सञ्चालन गरिएको थियो। तालिममा ३२ जना महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ।

संस्थाका अध्यक्ष ओद बहादुर भण्डारीको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खड्काले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै व्यावसायिक रूपमा काम गर्ने योजना बनाएर समूहगत रूपमा आउने समूहलाई पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीले वडाले भौतिक विकाससँगै मानवीय विकासलाई पनि प्राथमिकता दिएको बताउनुभयो। उहाँले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन आगामी दिनमा पनि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिने जानकारी दिनुभयो।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले तालिमले महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउँदै वनमा आधारित उद्यमशीलता प्रवर्द्धनमा स्थानीय सरकारको प्रयास सकारात्मक रहेको उल्लेख गर्नुभयो। उहाँले उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरण तथा प्रवर्द्धनमा उद्योग वाणिज्य संघ सहयोग गर्न तयार रहेको पनि बताउनुभयो।

स्थानीय वन महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महताराले तालिम लिनु मात्र सफलता नभई त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नु नै वास्तविक सफलता भएको धारणा राख्नुभयो। उहाँले सामुदायिक वनमा आवश्यक स्रोत भए पनि काठजन्य तथा वन पैदावारजन्य वस्तु उत्पादनमा स्थानीय तहको अधिकार स्पष्ट नहुँदा समस्या देखिएको उल्लेख गर्दै स्थानीय स्तरमै प्रयोग र व्यवस्थापन गर्न सकिने नीति आवश्यक रहेको बताउनुभयो।

प्रशिक्षार्थी कमला नेपालीले तालिम उपलब्धिमूलक भएको बताउँदै आगामी दिनमा उत्पादनको बजारीकरणका लागि स्थानीय सरकारसँग सहयोगको अपेक्षा रहेको बताउनुभयो।
समापन कार्यक्रमको सहजीकरण संस्थाका सदस्य केबी वलीले गर्नुभएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *