दाङको तुलसीपुर–६ गोलौरास्थित डिभाइन टेम्पल एकेडेमीको १७औँ वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम डिभाइन एजुकेशन फाउण्डेशनका सिइओ तथा विद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेको अध्यक्षता तथा शिक्षा विकास समन्वय एकाइ दाङका प्रमुख देवमनी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले वर्तमान शिक्षा प्रणालीलाई समयसापेक्ष, व्यवहारिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नराखी जीवनोपयोगी सीप, नैतिक मूल्य र जिम्मेवार नागरिक उत्पादन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा प्रधानाध्यापक न्यौपानेले विद्यालयले १७ वर्षको यात्रामा गुणस्तरीय शिक्षासँगै अनुशासन, संस्कार र सीपमूलक शिक्षामा जोड दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा प्रविधिसँग जोडिएको शिक्षण प्रणाली, अतिरिक्त क्रियाकलापको विस्तार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा थप प्रतिबद्ध रहने बताउनुभयो।
कार्यक्रममा विद्यालयमा लामो समयदेखि कार्यरत उत्कृष्ट शिक्षिका सीता केसी र शिक्षक अशोक रेग्मीलाई विद्यालयप्रति पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। त्यस्तै , सूचना तथा सञ्चार माध्यममार्फत शिक्षा क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जीतसागर जी.एम.लाई पनि सम्मानपत्र र खादासहित सम्मान गरिएको थियो।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै चर्चित लोक तथा दोहोरी गायक शक्ति चन्दको विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। चन्दका चर्चित गीतहरूमा विद्यार्थी, शिक्षक र अभिभावकहरू झुमेर नाचेका थिए।
कार्यक्रमको सहजीकरण शिक्षकद्वय पूर्ण केसी ‘मूस्कान’ र माधवा शर्मा आचार्यले गर्नुभएको थियो।





