Advertisement
Advertisement
Advertisement

चौरजहारीमा नेकपाको पक्षमा उर्लियो जनसमर्थन, गोपाल शर्मालाई भव्य स्वागत

आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रूकुम पश्चिमले सञ्चालन गरेको जनभेटघाट तथा घरदैलो कार्यक्रम निरन्तर रूपमा जारी रहेको छ।
कार्यक्रम अन्तर्गत हाल चौरजहारी नगरपालिकामा जनभेटघाट तथा घरदैलो अभियान सञ्चालन भइरहेको छ। नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोपाल शर्माको गृह नगरसमेत रहेको चौरजहारीमा शुक्रबार चुनावी अभियान टोलीलाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्।
स्थानीय बासिन्दाहरूले उम्मेदवार शर्मासहितको चुनावी अभियान टोलीलाई अबिर, फूलमाला र बाजागाजासहित स्वागत गरेका हुन्। अभियान टोलीका सदस्य अनिल केसीका अनुसार चौरजहारीमा देखिएको जनसहभागिता र उत्साहले चुनावी माहोल थप तातेको छ।
यसअघि नेकपाले मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकामा जनभेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ।
चौरजहारीमा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिताले पार्टीप्रतिको समर्थन अझ मजबुत बनेको उम्मेदवार शर्माले बताएका छन्। सो अवसरमा स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार शर्मा लगायतको टोलीले विकास र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने आश्वासन दिएका छन्।
उम्मेदवार शर्माले जिल्लाको समग्र विकासका लागि स्पष्ट योजना तय गरिएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। जनताका दैनिक समस्या बुझ्न र समाधान खोज्न घरदैलो कार्यक्रममार्फत फिल्डमा आएको उनले बताए।
“जनताको साथ र विश्वासले मात्र समृद्ध र न्यायपूर्ण समाज निर्माण सम्भव हुन्छ,” शर्माले भने।
केही समयसम्म जनभेटघाट तथा घरदैलो कार्यक्रम चौरजहारीमै केन्द्रित रहने जनाइएको छ। शुक्रबारको कार्यक्रमपछि चौरजहारीमा नेकपाप्रतिको समर्थन र उत्साह थप सुदृढ भएको अभियान टोलीले दाबी गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *