जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय हार्थोक, पाल्पाको आयोजनामा बैंकिङ समुदाय भेला तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको सभा अध्यक्ष यस शाखा सन्चालन कार्यालय हार्थोक मा आबद्ध बैंकिङ समुदाय(३१.००६९) ठुलोचौर महिला बैंकिङ समुदाय कि प्रमुख श्री गीता पुनले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा संस्थाका इलाका सञ्चालन अधिकृत श्री टोपबहादुर सुनारको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिका रूपमा प्रहरी हवल्दार श्री प्रेमबहादुर घर्ती तथा प्रहरी हवल्दार श्री चेतनारायण चौधरी रहनुभएको थियो। कार्यक्रमको सञ्चालन शाखा सञ्चालन अधिकृत श्री दिनेश नेपालीले गर्नुभएको थियो।
कार्यक्रममा ७१ जना सदस्य तथा स्थानीय समुदायका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको प्रारम्भमा शाखा सञ्चालन अधिकृत श्री दिनेश नेपालीले शाखाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाले गत आर्थिक वर्षमा हासिल गरेका उपलब्धिहरू, सदस्य विस्तार, बचत संकलन, कर्जा लगानी, कर्जा असुली, वित्तीय अवस्था तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराउनुभएको थियो। प्रस्तुत प्रतिवेदनले सहभागी सदस्यहरूलाई संस्थाको वर्तमान अवस्था र भावी योजनाबारे स्पष्ट जानकारी प्रदान गरेको थियो।
त्यसपछि आयोजित वित्तीय साक्षरता कार्यक्रममा वित्तीय साक्षरताको महत्व, नियमित बचत, ऋणको सही सदुपयोग, आय–व्यय व्यवस्थापन, डिजिटल बैंकिङ सेवा, वित्तीय अनुशासन तथा साइबर सुरक्षासम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।
प्रमुख अतिथि इलाका सञ्चालन अधिकृत श्री टोपबहादुर सुनारले वित्तीय साक्षरता आर्थिक सशक्तीकरणको आधार भएको बताउँदै सदस्यहरूलाई नियमित बचत गर्न, उत्पादनशील क्षेत्रमा लगानी गर्न तथा जिम्मेवार वित्तीय व्यवहार अपनाउन आग्रह गर्नुभयो। उहाँले जनउथान सामुदायिक लघुवित्ते सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर उकास्न निरन्तर प्रयासरत रहेको समेत बताउनुभयो
विशेष अतिथि प्रहरी हवल्दार श्री प्रेमबहादुर घर्तीले साइबर अपराध तथा अनलाइन ठगीका घटनाहरूबाट बच्न आवश्यक सावधानी अपनाउन सुझाव दिनुभयो । समुदायस्तरमा वित्तीय तथा सामाजिक चेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष श्रीमती गीता पुनले शाखाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र वित्तीय साक्षरता कार्यक्रम सदस्यहरूका लागि उपयोगी र जानकारीमूलक रहेको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो।
सहभागीहरूले कार्यक्रमबाट संस्थाको वार्षिक गतिविधि, उपलब्धि तथा वित्तीय व्यवस्थापनबारे जानकारी प्राप्त गर्नुका साथै वित्तीय साक्षरतासम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको प्रतिक्रिया दिएका थिए। कार्यक्रम धन्यवाद ज्ञापनसहित सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
हेडलाईन हरु
जनउत्थान लघुवित्तद्वारा सदस्यलाई बचत, लगानी र साइबर सुरक्षाबारे सचेतना



