दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर नर्सिङ कलेजकमा स्वागत तथा ‘फेरि भेटौँला’ कार्यक्रम भएको छ ।
राप्ती लाइफ केयर हस्पिटल प्रा.लिको स्टुडेन्ट काउन्सिलको आयोजनामा पिसिएल नर्सिङ तथा एचएका प्रथम वर्षका विद्यार्थीलाई स्वागत तथा तेस्रो वर्षका विद्यार्थीलाई बिदाइ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

विद्यार्थी विष्णु करालाको अध्यक्षता तथा राप्ती लाइफ केयर हस्पिटल प्रा.लिका अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले मानव जातिको सेवाभन्दा ठूलो धर्म अरू केही नरहेको बताउनुभयो । स्वास्थ्य सेवा जस्तो मानवीय र जिम्मेवार पेशा रोजेका विद्यार्थीलाई उहाँले सेवाभावलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गर्नुभयो ।
उहाँले बिदाइलाई अन्त्यका रूपमा नभई नयाँ यात्राको सुरुवातका रूपमा लिनुपर्ने बताउँदै स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा व्यावसायिक दक्षतासँगै मानवीय सेवामा पनि अब्बल हुनुपर्नेमा जोड दिनुभयो ।
अस्पतालका निर्देशक जीवन भण्डारीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई सहज बनाउने उद्देश्यले राप्ती लाइफ केयरले नर्सिङ तथा एचए अध्ययन सुरु गरेको बताउनुभयो । उहाँले अन्य पेशाको तुलनामा स्वास्थ्य क्षेत्रको पेशा मानवीय सेवाका दृष्टिले अझ महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
यस्तै, अर्का निर्देशक दोर्ण वलीले स्वास्थ्य उपचारसँगै मानवीय सेवा स्वास्थ्यकर्मीको सर्वोत्तम कार्य भएको बताउनुभयो । उहाँले विभिन्न महामारी तथा विपद्का समयमा नर्सहरूले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै स्वास्थ्यकर्मीमा सेवाभाव आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक प्रमोद न्यौपाने र गणेश अधिकारीले राप्ती लाइफ केयरले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यक्तित्व विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
विद्यार्थी रेशु थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी तिलक बुढाथोकी र लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अस्पतालका पदाधिकारीको सहभागिता रहेको थियो ।



