राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याव्सन) दाङको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट हरि प्रसाद भण्डारीको अध्यक्षतामा नया जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मानबहादुर डाँगी, उपाध्यक्षमा लोकराज भुषाल, सचिवमा लोकेन्द्र खड्का र कोषाध्यक्षमा एकराज बोहरा चयन हुनुभएको छ । यस्तै सहसचिवमा रोमहर्ष शर्मा, सहकोषाध्यक्षमा ताराबहादुर केसी तथा सदस्यहरूमा ओमप्रकाश न्यौपाने, मुकुन्द गिरी र अञ्जना खड्का चयन हुनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एन प्याव्सनका केन्द्रीय महासचिव तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाशचन्द्र खड्काले संगठनमा टुटफुट भए पनि संस्था कमजोर भएको भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले सबैलाई संगठनका गतिविधिमा सक्रिय भएर लाग्न आग्रह गर्दै जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नभएको बताउनुभयो ।
“अरूलाई हिलो छ्यापेर कोही अगाडि पुगिँदैन,” महासचिव खड्काले भन्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने तथा लामो समयदेखि आउन नसकेको शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी तथा सामुदायिक विद्यालयबीच राज्यले विभेद गरेको आरोप लगाउँदै निजी शिक्षामा गरिएको लगानीको उचित मूल्यांकन र सम्मान गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता माधव वलीले संगठन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख धनबहादुर केसीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
अधिवेशनका अवसरमा सञ्चार क्षेत्रबाट पत्रकार आशिष् केसी, संगठनलाई सहयोग तथा सहजीकरण गर्ने शिक्षक मेघराज घिमिरे र व्यावसायिक सहकार्यमा योगदान पुर्याउने चुडामणि अर्याललाई सम्मान गरिएको थियो ।
अधिवेशन उद्घाटन कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष भोजराज न्यौपानेले विषय प्रवेश तथा स्वागत मन्तव्य राख्नुभएको थियो।



