नेपालको ओडिआई इतिहासमै आफ्नो सबैभन्दा खराब हार बेहोरेको छ। आज पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा भएको एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग नेपाल २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको हो।
टस हारेर बलिङ्गको निम्तो पाएको नेपालले जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको थियो। नेपाल २३.३ ओभरमै १ सय ४ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । सोमपाल हरिस रौफलको बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट उत्कृष्ट क्याच आउटको शिकार हुन पुगे ।
चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए । हरिस रौफको बलमा आरिफ क्लिन बोल्ड आउट भए । आरिफले ३८ बलमा ५ चौकासहित २६ रन बनाए । सोमपाल र आरिफ बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालको यो ओडिआईमा रनको हिसाबमा सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो । यसअघि वेस्टइन्डिजविरुद्ध १ सय १ रनले हार्न पुगेको थियो ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै दुई विकेट लिएका थिए । नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा क्याच आउट भए ।
लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । नसिम शाहको दोस्रो ओभरको चौथो बलमा आसिफ शेख एज लागेर स्लिपमा इफ्तिखर अहमदबाट पाँच रनमा क्याच आउट भए ।
नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, सन्दीप लामिछाने र ललित डक आउट भए । करण ७ रनमा नट आउट रहे ।
पाकिस्तानका शादब खानले ६.४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । शाहिन शाह अफ्रिदीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले दुई, नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिए ।
त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो । यो नेपालविरुद्ध कुनैपनि टोलीले ओडिआईमा बनाएको उच्च योगफल हो । दुई महिना अघि वेस्टइन्डिजले विश्वकप छनोटमा बनाएको ३ सय ३९ रन यसअघि उच्च थियो।