प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायन रोक्नुपर्ने बताएका छन् । जर्षि जनक विश्वविद्यालयको सातौँ सभामा उनले क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट बौद्धिक पलायन रोक्न सकिने तर्क गरे।
राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन प्रमुख कार्यभार भएको भन्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए। प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको अवस्थामा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको धारणा राखे।
प्रधानमन्त्रीले विश्वविद्यालयको आवश्यकता र औचित्य बोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिए। उनले ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षि जनकका नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको धारणा राखे।
प्रधानमन्त्रीले मधेश प्रदेशलाई ज्ञान विज्ञानको केन्द्र भएको पनि बताए। उनले राजा जनकले ज्ञानी ऋषिमुनिसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको चर्चा गरे।



