Advertisement
Advertisement
Advertisement

गुप्ता दह र सिस्ने हिमालको माया पिरती

एक्क बहादुर के सी /रुकुम पश्चिम

मैले जब आँखा उघारेँ
मेरो पहिलो दृश्य तिमीमा पर्न गयो
अविराम दृश्य पनि तिमी नै हौ मेरो
म तिमी बाहेक अरुलाई हेर्नै सक्दैन
तिम्रो अटलता, तिम्रो सुन्दरता,
तिम्रो महानता, तिम्रो उचाइले
म गौरवान्वित हुने गर्छु ।

तिमीविना मेरो अस्तित्व नै छैन
हो प्रिय, तिमीलाई हेरेर म कहिल्यै अघाउँदिन ।
मलाई पनि मन त छ नि,
एकै ठाउँमा उभिएर
चारै दिशा दृश्यावलोकन गर्ने,
म आफूलाई तिमीमा पाइसकेपछि
तिमीमार्फत सबै देख्छु ।
तिमीलाई च्याप्पै समाएर
कहिल्यै नछोडौँ लाग्छ
म बनेकै तिम्रो लागि हो ।

उभिदा उभिदा तिमीलाई थकाइ लागेछ भने
थोरै समय भए पनि
ममा विश्राम गर्न आउनु है !
म निमेषभरमै चैनको पूरा निद सुताउन सक्छु
मेरो वक्षस्थलमा तिमीलाई ।
तिमी आउनलाई मेरो अनुमति चाहिदैन
मेरो मनमौजी हौ तिमी,
बिहानीको उषामा आउनू,
मध्याह्नमा आउनू,
गोधूलि सन्ध्यामा आउनू,
जुनेली रातमा आउनू ।

कहिलेकाहीँ तिमीलाई
आफू कस्तो छु भनी ऐना हेर्न मन लाग्दो हो,
त्यतिबेला तिमीले मलाई हेर्नु है
मभित्र रहेको तिमीलाई दुरुस्तै देखाइदिउँला ।

आजभोलि तिमीलाई के भ’को के ?
तिम्रो मौनतामा मैले
अथाह पीडा महसुस गरिरहेकी छु ।
मलाई थाहा छ नि,
मनमा दर्दले खैलाबैला मच्चाउँदा
तिम्रो मुख बन्द हुन्छ भनेर ।
तिमीलाई सन्चो छैन है ?!
तिमी बिरामी छौ ।

यो कस्तो वर्तमान
तिमी किन नाङ्गा छौ ?
यस्तो नग्नता तिमीलाई पटक्कै सुहाउँदैन ।
पहिले बाह्रैमास
सेता वस्त्रले सुसज्जित हुने तिमी
हिजोआज किन लाचार र विवश छौ ?
कसले उतार्‍यो तिम्रा वस्त्र ?
कसले हर्‍यो तिम्रो नैसर्गिक अधिकार ?
तिमीसंगै म पनि
कुरुप भैरहेकी महसुस गरिरहेकी छु ।
सेतो वस्त्र तिमीलाई असाध्यै सुहाउँछ,
तिमी छिट्टै पूर्ववत् अवस्थामा फर्केउ है !

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *