दाङ-सल्यान सिमानामा पर्ने कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित राप्ती राजमार्गमा ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार आज मंगलबार बिहान करिब ६ बजे सडकमाथिबाट ठूलो पहिरो खसेको हो। पहिरोका कारण राजमार्गको दुबै तर्फको आवागमन ठप्प भएको छ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। तर लगातारको वर्षा र सडक हिलाम्मे भएका कारण काममा कठिनाइ भइरहेको छ। वैकल्पिक मार्ग समेत हिलोका कारण सञ्चालनमा आउन नसकेको बताइएको छ।
सडक अबरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। यस्तो अवस्थामा यात्रुहरूलाई थप समस्यामा नपार्नका लागि सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
राजमार्ग सञ्चालनमा नआएसम्मका लागि यात्रुहरूलाई यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ।



