Advertisement
Advertisement
Advertisement

युट्युब बन्द हुने भएपछि संसद बैठकको लाइभ प्रभावित हुने

सरकारले दर्ता नभएका युट्युब सहितका सामाजिक सञ्जाल बन्द गरेपछि संघीय संसदको लाइभ पनि प्रभावित हुने भएको छ।

Advertisement

संसदले युट्युबमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रत्यक्ष प्रशारण गर्दै आएको थियो। संसदका अहिलेसम्मका सबै बैठकको भिडिओ समेत युट्युबमै छन्।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सभामुख देवराज घिमिरेले संसदको प्रत्यक्ष प्रसारण र भिडिओ अर्काइभबारे चासो व्यक्त गरेका छन्।

‘दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुखले संसदको लाइभ प्रसारण र भिडिओ अर्काइभ सुरक्षाबारे चासो राख्नुभएको छ’, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘संसद सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिइसक्नुभएको छ।’

संघीय संसदका प्रवक्ता एकराम गिरीले युट्युब बन्द भएपछि सचिवालयलाई बैठक प्रत्यक्ष प्रशारण गर्न समस्या हुने बताए।

‘लाइभ कसरी गर्नु? हामीले अहिलेसम्म युट्युबमा गर्दै आएका थियौँ,’ गिरीले भने, ‘हामीसँग अन्य प्रविधि छैन। मैले हाम्रो सचिवालयमा भएका प्रविधि हेर्न साथीहरूलाई बोलाएर विकल्पबारे छलफल सुरू गरेको छु।’

संघीय संसदको नियमावलीले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था गरेको छ। युट्युबलाई सरकारले प्रतिबन्ध लगाएपछि संसद सचिवालय अलमलमा परेको हो।

गिरीले त्यसबाहेक सांसदहरूसँग विभिन्न समितिले ह्वाट्स एपबाट गर्ने कम्युनिकेशन प्रभावित भएको बताए।

‘अहिलेसम्म विभिन्न समितिले सांसदहरूको बीचमा ह्वाट्स एपबाट कम्युनिकेशन गर्ने गरेको थियो,’ गिरीले भने, ‘अब नेपालमा दर्ता भएको भाइबरमा त्यसलाई सार्नुपर्ने भएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *